दार्चुला– यार्सागुम्बा संकलनको समय भएको कारण अहिले दार्चुलाका उच्च भूगोलका गाउँहरु रित्तिन थालेका छन् । गत वैशाख दोस्रो साताबाटै स्थानीय यार्सागुम्बा संकलनमा लेकतिर हिँडेपछि गाउँ रित्तिन थालेका हुन् । अहिले गाउँमा मान्छे भेट्टाउनै मुस्किल हुन थालेको छ । ‘सबै यार्सागुम्बा संकलनमा हिँडेपछि गाउँ सुनसान जस्तै छ,’ व्याँस गाउँपालिका २ मालका दानसिंह कार्कीले भन्नुभयो ।
स्थानीय यार्सागुम्बा खोज्न दुधिवन लगायतका पाटनमा संकलहरु गएका छन् । यो पटक स्थानीय लेक खुल्न अगावै यार्सागुम्बा खोज्न हिडेका छन् । अपिहिमालका स्थानीय हरिश कार्कीका अनुसार स्थानीय वैशाखदेखि यार्सागुम्बा संकलन गरिरहेका छन् । भोट हाल्नको लागि मात्रै स्थानीय गाउँ फर्किएका थिए ।
भोट हाल्ने वित्तिकै स्थानीय फेरि यार्सागुम्बा संकलनको लागि लोलु, रोखापु, सातगंगा, चाइमटेला, धरमघर, क्षत्तिलगायतका वनहरुमा पुगेका छन् । वनमा यार्सागुम्बा संकलकहरुको भीड लागेको छ । नेकपा एमालेका नेता शान्ति धामीले चुनावलगत्तै आफुहरुसमेत यार्सागुम्बा संकलनमा लेकतिर गएको बताए । ‘गाउँमा मान्छे २।४ जना भेटिएलान्,’ उहाँले भन्नुभयो, त्यसबाहेक सबै लेकतिर छन् ।’
यार्सागुम्बा ओसारपसार तथा संकलन निर्देशिकाले यार्सागुम्बा संकलन अवधि जेठ दोस्रो साताबाट गर्नुपर्ने उल्लेख गरेको भए पनि स्थानीय लेक नखुल्दै यार्सागुम्बा संकलनको लागि हिँडेका हुन् ।