अछाम– अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ले गर्भवती महिलाका लागि राहत दिने निर्णय गरेको छ । वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले वडाका कुनैपनि गर्भवति महिला सुत्केरी हुनका लागि जिल्ला अस्पताल पुर्याउनुपर्दा सहुलियत स्वरुप १५ सय रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो ।
कुनै पनि गर्भवती महिला रकमको अभावका कारण अस्पताल जान नसक्ने अवस्था नआओस् र आमा र बच्चाको स्वास्थ्य जटिल हुने अवस्था नहोस् भनेर उक्त निर्णय गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।
आफूले चुनावको बेला गरिएको प्रतिबद्धता अनुसार महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै वडाको पहिलो बैठकबाटै उक्त निर्णय गरिएको उहाँको भनाइ छ ।
बैठकले सेवाग्राहीको माग तथा आवश्यकतालाई मध्येनजर गर्दै आइतबार पनि कार्यालय सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आइतवार बिहान १० देखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्ने निर्णय गरिएको छ ।