काठमाडौं – आज असार २ गतेदेखि सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई ३ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दा. २, ३, ४ र ६ का बासिन्दाहरुका लागि यस आइपीओ निष्कासन गरेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम म्याद असार १६ गतेसम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
रेटिङ एजेन्सी कियर नेपालले यस आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य एनआइबिएल एस क्यापिटलले गर्नेछ ।
स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।