काठमाडौं – नेपाली सेनाले विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरिरहेको बेला नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनको लागि पठाएको पत्र सार्वजनिक भएको छ ।
बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।
सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत एलिना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनाका लागि सहयोग गर्ने विषयहरु उल्लेख छन् ।
उनले एसपीपीमा सहभागिताको लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ । उच्च सुरक्षा स्रोतबाट प्राप्त पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरु बीचमा सहकार्य गर्ने बारेमा उल्लेख छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उक्त पत्राचार भएको हो ।