काठमाडौं – रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्। एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।
भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित भएकी थिइन्।यसअघि उपसभामुखमा पदमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन्। नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले मनोनयन दर्ता गराएकी हुन्।
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्।तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।