काठमाडौँ- डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अध्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ।
यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए।
यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो। साथै भट्टराईसहित केन्द्रीय कार्यकारीणी समितिका नौ जना नेताहरुलाई यादव पक्षले पदमुक्त गरेको थियो। सोही विवरण अध्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ।
राजनीतिक रुपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रुपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ। निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । यादव पक्षले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले कारबाहीको निर्णय गरेको जनाएको छ।
तर भट्टराई पक्षले भने स्वेच्छाचारी, अराजनीतिक र अनैतिक रुपमा पदमुक्तको निर्णय गरिएको भन्दै पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने जनाएको छ।