काठमाडौं- सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन्। महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरिएको थियो।
विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्तले बताए।
“विसं २०५७ मा पनि उच्च शिक्षाका लागि दुई–तीन दिनको बाटो हिँडेर काठमाडौं वा भारत जानुपर्ने बाध्यता थियो”, उनले भने, “त्यो बेला पनि एमएबिए गर्न पनि निकै सङ्घर्ष गरेर अध्ययन गर्न पाइन्थ्यो ।” त्यो बेला सुदूरपश्चिममेली जनताले उच्च शिक्षाका अध्ययन गर्न धेरै समस्या झेल्नुपरेको थियो विश्वविद्यालयको स्थापनापछि त्यो समस्याको अन्त्य भएको उनले बताए।
“२०५७ पछि मात्रै काठमाडौं बाहिर पहिलोपकट महेन्द्रनगरमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना भएको थियो।” उनले विगत सम्झिँदै भने, “त्यो बेला अध्ययन गर्न धेरै दुःख थियो, अहिले त घरमै आमाबुवाले पाएको रोटी खाएर क्याम्पस जाने अवस्था छ, यो राम्रो पक्ष हो।” विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मारेको फड्को सुदूरपश्चिमका लागि गौरवको विषय भएको उनले बताए। “अब विश्वविद्यालयले युग सुहाउँदो शिक्षा र प्राविधिकतर्फ बढी जोड दिनुपर्छ।” उनले भने, “विश्वविद्यालयले आङ्गिक क्याम्पसहरू थप गरेर शिक्षाको विस्तार गनुपर्छे।”
पछिल्लो समय विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आधारमा हुने नियुक्तिले भने विश्वविद्यालयको संस्कारमाथि प्रश्न उठेको उनले बताए। “जब विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुन्छ त्यहीबाट विसङ्गति सुरु हुन्छ।” उनले भने, “विश्वविद्यालयमा जुनसुकै पदमा नियुक्ति गर्दा पनि योग्यता र क्षमताका आधारमा नियुक्त गरिनुपर्छ ।” हाल विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ क्याम्पसबाट उच्च शिक्षादेखि प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ। स्नातक तहमा २२ र स्नाकोत्तर तहमा १० शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। गत शैक्षिकसत्रदेखि स्वास्थ्य विज्ञान सङ्काय तथा कानुन सङ्काय पनि सञ्चालनमा ल्याएको छ। मानविकी तथा समाजिक शास्त्र तथा व्यवस्थापन सङ्कायमा एमफिल र पिएचडी कार्यक्रममा सुरु गरिसकेको छ।