काठमाडौं – आजदेखि सरकारले दशैं तिहारका लागि सुपथ मूल्य पसल सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि दशैं लक्षित सुपथ मूल्य पसल सुरू गरेको हो ।
व्यापार कम्पनीले आजदेखि देशका ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कम्पनीका निर्देशक श्रीमणी खनालले काठमाडौं उपत्यकामा ४ स्थानमा पसल राखेको जानकारी दिए ।
ती पसलहरूमा चामल, दाल, तेल, चिउरा, गेडागुडी, खाना पकाउने एलपीजी ग्यास र इण्डक्सन चुलो लगायतका वस्तु बिक्रीमा राखिएको छ । यस्तै, उपत्यका बाहिरका पसलहरूमा भने खाद्यान्नहरूको बिक्री हुने खनालले बताए ।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ५ स्थान गरी देशभर ९३ स्थानमा सुपथ मूल्य पसल सुरू गरेको छ । कम्पनीका निर्देशक ब्रजेशकुमार झाले आजदेखि छटसम्मलाई सुपथ मूल्य पसल सुरू गरिएको जानकारी दिए ।
कर्पोरेशनले चिउरा, चामल, दाल, गेडागुडी, तेल, नून लगायतका वस्तु दशैं, तिहार र छटमा बिक्री गर्नेछ । कर्पोरेशन र व्यापार कम्पनीले यी वस्तुहरूमा प्रतिकिलो ७ देखि १० रुपैयाँसम्म छुट दिनेछन् ।