डडेल्धुरा – नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर आफ्नो निर्वाचन क्षेत्र डोटी छोड्न तयार भइसकेका छन् ।
काँग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरुको लामो कसरतपछि उनी डोटी छोड्न तयार भएका थिए। डोटी गृहजिल्ला भएका बलायरको घर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि छ। त्यसैले बलायर डोटी छाडेर कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्न तयार भएको काँग्रेस नेताहरु बताउँछन् ।
डोटीमा पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आले चुनाव लड्ने लगभग तय भएको बताइएको छ। यसअघि स्थानीय तहमा काँग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए । तर अहिले भने कैलाली ४ मा आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सञ्चारमाध्यममा प्रतिक्रीया दिइसकेका छन् । सो क्षेत्रबाट क्षेत्रीय समितिले भने केन्द्रीय सदस्य नैनसिंह महरसहित डा. लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो। यद्यपी प्रदेश सभापति बलायर चुनाव लड्ने भएपछि अन्य नेताहरुको सम्भावना लगभग सकिएको नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ का एक नेताले बताए। ‘एमालेबाट यसक्षेत्रबाट सचिव लेखराज भट्ट चुनाव लड्ने निश्चित नै छ,’ती नेताले भने, ‘हामी पनि हेवी वेट नेता खोजीरहेका थियौं। प्रदेश सभापतिले इच्छा देखाइसकेपछि अन्य नेताको सम्भावना लगभग सकिएको छ।’
योसंगै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने भएसंगै त्यँहा लेखराज भर्सेस बीरबहादुर हुने देखिएको छ। ०६४ सलाको पहिलो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका भट्ट दोस्रो संविधानसभा निर्वाचनमा भने काँग्रेस दीर्घराज भाटसंग पराजित भएका थिए। ०७४ सालको निर्वाचनमा भने उनी बाम गठबन्धनबाट माओवादी केन्द्रको तर्फबाट उम्मेदवार हुँदै काँग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गर्दै विजयी भएका थिए। माओवादीबाट विजयी भएर एमाले प्रवेश गरेका भट्टको सांसद पद भने डेढ वर्ष अगाडि नै गुमिसकेको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा डोटीमा दुई निर्वाचन क्षेत्र हुँदा बलायर विजयी भएका थिए। ०७४ सालको निर्वाचनमा बहालबाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका बलायर एमाले नेता प्रेमबहादुर आलेमगरसंग पराजित भएका थिए। आले ३२ हजार ५ सय १० मतसहित बिजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरेका थिए। अहिले आले एकीकृत समाजवादीमा छन्।