काठमाडौं – मुलुक भरका ७७ जिल्लामध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौं र काठमाडौं उपत्यकामा मतदानको तयारी पूरा भएकाे छ । ।
यी तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्था पुरा भएको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।
कस्तो छ काठमाडौं मतदानको तयारी ?
सुरक्षाको र व्यवस्थापन दुवै दृष्टिकोणले सबै तयारी पूरा भएको र मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउने र त्यसको सुरक्षा व्यवस्था मिलाउने काम पनि सकिएको प्रजिअ घनश्याम उपाध्यायले बताए । काठमाडौंका १० वटा प्रतिनिधिसभा र २० वटा प्रदेश सभा गरेर ३० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
यसैगरी भक्तपुरमा पनि निर्वाचनपूर्वको सबै तयारी सकिएको प्रजिअ रुद्रादेवी शर्माले बताएकी छन् । सुरक्षाकर्मी आफ्नो क्षेत्रमा खटिसकेको र मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी पनि परिचालन भइसकेको प्रजिअ शर्माले बताईन् ।
त्यस्तै प्रतिनिधिसभाका ३ वटा निर्वाचन क्षेत्र ललितपुर जिल्लामा पनि सबै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेको प्रजिअ जयनारायण आचार्यले बताए । ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर एक दुर्गम क्षेत्र भएकाले हाम्रा गतिविधि त्यता बढी केन्द्रित रहेको उनले बताए ।