धनगढी – सुदूरपश्चिममा प्रदेश र प्रतिनिधिसभा सदस्य गरी ४८ प्रतिनिधि छनोट गर्न मतदानस्थल र मतदान केन्द्रबाट आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने बएको छ ।
मतदानका लागि सबै तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीबाट प्रदेश र प्रतिनिधिसभा सदस्य छनोट हुनेछन्। प्रतिनिधितर्फ ५ र प्रदेशतर्फ १० गरी १५ सदस्य कैलालीबाट चुनिने भएका हुन्।
कैलालीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भइसकेका जिल्ला निर्वाचन कार्यालय कैलालीले बताएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए। ‘मतदानस्थल तथा मतदान केन्द्रमा प्रमुख मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत खटिइसकेका छन्।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुरबाट ९ जना छनोट हुनेछन्। प्रतिनिधितर्फ तीन र प्रदेशतर्फ ६ जना छनोटका लागि मतदान हुँदैछ। आफ्नो प्रतिनिधि छनोटका लागि निर्वाचन आयोगले मतदातालाई पायक पर्ने स्थान छनोट गरी मतदानस्थल र मतदान केन्द्र स्थापना गरेर निर्वाचनको सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए।
अछामबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सदस्य छनोट हुनेछन्। बाँकी पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एक गरी ६ प्रतिनिधिसभा सदस्य र १२ प्रदेशसभा सदस्य गरी १८ प्रतिनिधि छनोट हुनेछन्।
कानूनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुई जना छनोट हुन लागेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि तयारी पुरा भइसकेको निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अवस्थीले बताए। सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन्। मतदानका लागि निर्वाचन आयोगले प्रदेशभर एक हजार १६१ मतदानस्थल र दुई हजार १४६ मतदान केन्द्र स्थापना गरेको छ।