दार्चुलामा एक युवक मृत फेला परेका छन् । जिल्लाको खलंगा बजारबाट मत हाल्न ब्याँस गाउँपालिका–४ सुनसेरा गएका युवक मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार मृत फेलापर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट रहेका छन् । प्रहरीले मृत फेला परेको भनेर भने पनि उनको हत्या गरिएको मृतकका परिवारको आरोप छ ।
विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको उनका आफन्तले बताएका छन् । मृतक विष्टका परिवारले मत दिनेरनदिने विषयमा विवाद भएपछि हत्या भएको भन्दै हत्यारा सार्वजनिक नहुँदासम्म चुप नबस्ने चेतावनी दिएका छन् ।
यस्तै, स्थानीय एमाले नेताहरूले पनि नरेन्द्रको हत्या भएको भन्दै हत्यारालाई कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने अडान लिएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
घटना शंकास्पद (हत्याको जस्तो प्रकृति) भएको प्रहरीको भनाइ छ ।