ललित सामन्त,दार्चुला-जिल्लाको मालिकार्जुन लेकम तथा शैल्यशिखर नगरपालिका क्षेत्र लगायतका स्थानहरुमा अहिले उखु खेती तर्फ किसानहरुको आकर्षण बढ्दो देखिएको छ।
पहिले-पहिले उखु खेतीमा किसानको आकर्षण नदेखीए पनि अहिले आएर गुडको माग बढेसँगै उखु खेती तर्फ किसानको आकर्षण बढि देखिएको हो।
तराई र छिमेकी राष्ट भारतबाट ठूलो परिमाणमा जिल्लामा भारतीय गुड भित्रिने गरेपछि आजभोली स्थानिय स्तरमै व्यवसायिक कृषकहरुले सामुहिक रुपमा व्यसायिक उखु खेती गर्दै आएका छन्।
गुडबाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रका किसान उखु खेती तर्फ आकर्षीत भएका हुन्। माग अनुसार बाहिर बाट गुड आयात भएकै कारण उखुखेतिको प्रयोगको लागि पछिल्लो समय कृषकहरुमा व्यवसायिक उखु खेतीको सुरुवात भएको हो।
बाहिरबाट आयात हुँदै आएको गुडलाई कम गर्न र किसनलाई आय आर्जनमा अग्रसर गराई उखु खेतीलाई मुख्य नगदे बालीका रुपमा स्थापित गर्ने उद्देश्यले अहिले उखु खेतिमा लगाउन बढाउन थालेको यस क्षेत्रका उखु किसानहरुले बताएका छन।
यति बेला दार्चुलाको लेकम ,मालिकार्जुन, तथा शैल्यशिखर नगरपालिका तिर उखु काटेर पेल्ने काम भइरहेको हुदा दिनभर एक सय भन्दा बढी ग्राहकहरु अवलोकन गर्दै उखु,खुदो खरीदका लागि आउने गरेको स्थानीय गणेश सिह धामीले जानकारी दिए। नगदे बाली अन्तर्गत पर्ने उखु खेती तराईमा व्यवसायिकताका साथ गरिन्छ। पहाडमा त्यसरी गरिँदैन।
पहाडमा अहिले पनि परम्परागत विधिको रुपमा उखु खेती गरिँदै आएको छ। ज्ञान केन्द्रका अनुसार जिल्लाको मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चालू आर्थिक वर्षबाट उखु प्रवद्र्धन गर्न लागिएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिए।
यसका लागि केन्द्रले आर्थिक वर्षको लागि झण्डै ८ लाख बजेट विनियोजन गरिएको जनाएको छ। उनले भने, “दार्चुलेली गुडलाई सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पु¥याउने उद्देश्यले आर्थिक वर्षबाट उखु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिन लागेको हो। ”जिल्लामा उखुबाट उत्पादन हुने गुड प्रतिकिलो २ सयदेखि २५० सम्म सजिलै बिक्री हुने गर्दछ।
गुड खासगरी चैत महिनामा बढी खपत हुने गरेको छ। परम्परागत रुपमा उखु पेलाइ हुँदै आएको ज्ञान केन्द्रले विद्युतीय मेसिन खरीद गर्ने तथा अन्य उपकरण खरीद गर्नका लागि रकम विनियोजन समेत गरेको छ।जिल्लामा हालसम्म पनि आगोमा पकाएर तयार पारिएको गुड विद्युत्तीय भट्टिमा पकाएर तयार पारिएको गुड भन्दा स्वादिष्ट हुने गरेको छ।
पहाडको गाउँमा चिनीको प्रयोग बढेको तथा युवामा विदेश मोह पलाएको कारण विगतको तुलनामा अहिले उखु खेतीप्रतिको लगाव घट्दै गएको उखु किसानले बताएका छन्। परम्परागत विधिबाट तयार पारिएको गुड स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ।अहिले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा उखु पेलेर गुड निकाल्ने काम सुरु भएको छ।
गुड बनाउन मेहनत बढी लाग्ने गरेका कारण पनि महँगो हुँदै गएको मालिकार्जुनका स्थानीयवासी धनसिंह धामीले बताए। उनले भने, “मेहनत अनुसार अझै मूल्य आउँदैन्। बढी मेहनत छ तर लगानी कम असुली हुने गर्छ। समय निकै लाग्छ।” श्रमअनुसार गुड बिक्रीबाट आम्दानी नहुने गरेको कारण किसानले आफूलाई खानलाई मात्र उखुखेती गर्ने र गुड बनाउने गरेका छन्।