काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षडयन्त्र मात्रै भएको बताएका छन् ।
आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिँदै महासचिव विप्लवले संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् ।
उनले वक्तव्यमा कम्युनिस्टहरु एक हुनुपर्ने पनि बताएका छन् । ‘हामी कम्युनिस्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रूपले योगदान गरेका सबै कम्युनिस्ट समर्थक नागरिकहरू, जनसमुदायहरू, देशभक्त नागरिकहरू ।’ उनले भनेका छन् ।
कम्युनिस्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बङ्गाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिस्टलाई घिसारेर अन्ततः कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिस्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले अगाडि भने ।
महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताएका छन् ।
उनले संसारभर पुँजीपति वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसै कारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरे ।