६५ वर्ष अगाडिको कुरो हो । बलरामपुर भन्ने ठाउँबाट हिन्दुवादी दल जनसंघको टिकेटमा चुनाव जितेर भारतको संसदमा पुगेको ३३ वर्षको एकजना युवा सांसदको भाषण यति प्रखर थियो कि संसदमा कुनै गतिलो प्रतिपक्षी नेता नदेखेर आत्तिएका प्रधानमन्त्री नेहरु उसको भाषण सुन्न आफ्ना अरु सबै कार्यक्रम रद्द गरेर संसदमा अवश्य पुग्न लागे। एक दिन त उसको भाषण सुनेर कायल भएका नेहरुले भनिहाले-“यो केटो एक दिन भारतको प्रधानमन्त्री बन्ने छ।”
-संसदको अधिवेशन समापन भएर भोजको आयोजना गरिएको थियो। उच्च सदन राज्यसभाका सभापति डा.राधाकृष्णनसंग तल्लो सदन लोकसभामा रहेका जनसंघका चार जना सदस्यहरुको परिचय गराइयो। उनले भने-“यो पार्टीका सदस्यलाई त मैले देखेकै रहेनछु”। त्यो युवा सदस्यले प्वाक्क उत्तर दिय- “अब जताततै यही पार्टीका सदस्य मात्रै देख्नु हुनेछ महामहिम ।”
-श्री ५ महेन्द्र भारत भ्रमणमा सवारी भएको थियो। त्यतिखेर त्यो युवा सांसद लोकसभामा आफ्नो दलको नेता भैसकेको थियो। श्री ५ महेन्द्रसंग उसको पनि दर्शन भेट हुने कार्यक्रम राखिएको थियो। दिल्लीको हैदरावाद हाउसमा श्री ५ महेन्द्रको दर्शन भेट गर्न पुगेको त्यो युवा सांसदले पहिले श्री ५ महेन्द्रलाई निहुरेर नमस्कार गर्यो र त्यसपछि खुट्टामा ढोग्यो। संगै रहेका भारत र नेपालको परराष्ट्र मन्त्रालयका कर्मचारी र राजदूतहरु अचम्ममा परे। श्री ५ महेन्द्रबाट हुकुम भो “ओ नो नो ।।मिस्टर एमपी इट्स ओके”।
त्यो युवा सांसदले हिन्दीमा भन्यो- “राजन ! आप संवैधानिक रुप से केवल नेपाल के राजा हैं, परन्तु भावनात्मक रुप से विश्व भर के समस्त हिन्दुओं के राजा हैं, राजा के पाउ छोना हमारा धर्म है” ।
-त्यो युवा सांसदले ११ पटक भारतीय संसदको तल्लो सदन (लोकसभा)को चुनाव जित्यो भने दुई पटक माथिल्लो सदन (राज्यसभा) को सदस्य भएर कीर्तिमान कोर्यो र ७२ वर्षको उमेरमा भारतको प्रधानमन्त्री भयो।
प्रखर कविको पनि परिचय बनाएको त्यो प्रखर युवालाई संसारले अटल विहारी वाजपेयीको नामले चिन्यो।
आज उनै अटल विहारी वाजपेयीको ९९ औं जयन्ती हो।
हार्दिक श्रद्धाञ्जली