काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताएका छन्।
सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गरे।
अध्यक्षले प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो। प्रतिक्रियावादी जोडिए। एउटा ठूलो सेटिंग थियो। यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो।’
अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको केही अंश–
“यो षडयन्त्रविरुद्ध हामी सडकमा उत्रियौं र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौं । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले नै जनतालाई अपील गरेपछि देशैभरी बिभिन्न तह र तप्काका जनता यो डिजाइनविरुद्ध संघर्षमा होमिए ।
लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि यो देशी विदेशी सेटिंग असफल भएको हो । माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको हो । नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन । त्यतिबेला नेपाली कांग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ । नेपाली कांग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं ।
दोश्रोपटक समेत प्रतिगमनकारीहरुले संविधानमाथि प्रहार भएर संसद विघटनभएपनि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि हामीले गठबन्धनको निर्माणको पहल गर्यौं । माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस भनेर धेरैचोटी अनुरोध गर्यौं ।
अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरुले तपाईहरु पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो । तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौं । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।
त्यसपछि दोश्रोपटकको विघटनलाई गठबन्धनको माध्यमबाट असफल तुल्यायौं । त्यहाँ पनि माओवादी केन्द्रको मुख्य भूमिका रह्यो । हामीले नेपाललाई यहाँसम्म ल्याउन माओवादी केन्द्र र यसको नेतृत्वले कसरी भूमिका खेल्दै आयो भन्ने कुरा सूक्ष्मरुपमा बुझ्नुपर्छ ।
यी सबै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगे । सातवटै प्रदेशका मुख्यमन्त्री घर फर्किए । त्यसैले अहिले विचलित र अस्पष्ट हुनु जरुरी छैन । आत्मसमीक्षा गर्दै अघि बढनुपर्छ ।”