काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने जनाएको छ । विराटनगर र जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु हुन लागेको हो । यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएको थियो ।
यस्तै श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृत लिन सकिने भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो । यो सँगै सात वटै प्रदेशबाट सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो।
श्रम स्वीकृति लिनका लागि भौतिक रूपमा कार्यालयमै उपस्थित हुनु पर्ने र विभिन्न झन्झट हुने समस्यामा ध्यानमा राखेर अनलाइनमार्फत् नै सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको उहाँको भनाइ छ । सबै खाले श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनमार्फत् नै प्रदान हुन्छ।
पुनः श्रम स्वीकृतिदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति पनि पूर्ण रूपमा अनलाइनबाट मात्र प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि कोही पनि कार्यालयमा गएर लाइन लाग्नु पर्दैन । यसअघि प्रदेशबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए।