हेटौंडा– मकवानपुरमा पालिएका कुखुरामा बर्डफ्लु रोगको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि २०० वटा कुखुरा नष्ट गरिएको छ।
सोमबार भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको थियो। बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको करिब २०० वटा कुखुरा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनले सोमबार २०० वटा कुखुरा, ४५ किलो कुखुराको दाना र केही मात्रा अण्डा नष्ट गरिएको बताए।
‘बड्फ्लु पुष्टि भएको खोर वरिपरि अरु पनि कुखुरा नष्ट गर्नुपर्ने छ‚’ उनले भने‚ ‘तर, हिजो राति परिसकेकाले हामी फर्कियौं। आज फेरि गएर थप कुखुरा नष्ट गर्छौं।’ डा. ठाकुरले बर्डफ्लु पुष्टि भएपछि कुखुरा ओसारपसारमा उच्च सतर्कता अपनाइएको बताए।
प्रजिअ पाण्डेले बर्डफ्लु संक्रमण देखिएको स्थानमा टोली खटाएर काम अघि बढाइसकेको बताए। नाकामा कुखुरा चेकजाँचलाई तीब्रता दिने, संक्रमित स्थानमा रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्ने र बर्डफ्लु संक्रमण पुष्टि भएको इलाकाभित्र चेकजाँचलाई तत्काल अघि बढाउने निर्णय गरिएको पाण्डेले जानकारी दिए।