सर्लाही – सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखि लगातार डढेलो लागिरहेको छ । हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेकाे छ ।
हावाहुरी र सुख्खा मौसम भएकाले डढेलो अहिलेसम्म निभाउन नसकिएकाे हाे । हिउँदयाम सुरु भएसँगै यस क्षेत्रको जङ्गलमा बर्सेनी डढेलो लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।
डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलाे निभाउन कुनै पूर्व तयारी नगरेकाे स्थानीयकाे गुनासाे छ । भन्छन्, ‘आगाे निभाउन दक्ष जनशक्ति पनि छैनन् । माटो र स्याउलाको भरमा डढेलो निभ्दैन’ ।
चारकोसे झाडीको जङ्गल र चुरेको वनमा डढेलो लाग्न थालेपछि त्यस क्षेत्रमा बसोबास गर्दै आएका धेरै रैथाने वन्यजन्तु सुरक्षित वासस्थानको खोजी गर्दै हिँड्न थालेका छन् ।
सुक्खा मौसममा लाग्ने डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायत जैविक विविधता तथा पर्यावरणीयमा समेत क्षति पुर्याउने गरेको विज्ञहरूको भनाइ छ ।