यति एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उहाँले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, मानन्धरले भन्नुभयो । हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव दिइएको थियो ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।
यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिक सहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीहरुको दुःखद निधन भएको थियो ।
सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ ।
सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।
सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बङ्गलादेशबाट नेपाल आएको यूएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु भएको थियो ।
यस्तै गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।
हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन । सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।
काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दुर्घटना हो । यति एयरलाइन्सको हकमा भने यो चौँथो दुर्घटना हो ।