काठमाण्डाै – आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । तर यसपालिको राष्ट्रिय भूकम्प सुरक्षा दिवसका कार्यक्रम स्थगित भएका छन् । हिजो पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा दिइएकाले भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु स्थगित गरिएको हो ।
विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थगित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहेका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आज स्थगित भएका कार्यक्रम एक हप्ताभित्र गरिने उहाँले बताउनुभयो । भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने भोलिदेखि गर्ने तयारी छ । भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।