धनगढी – सुदूरपश्चिमको दार्चुला पुर्ख्याैली घर भएका राप्रपाका दीपकबहादुर सिंह उर्जा तथा जलश्रोत राज्यमन्त्री बनेका छन्। मकवानपुरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई हराएर चर्चा कमाएका सिंह राज्यमन्त्री बनेका हुन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री भएका छन्। सो पार्टीबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्री बन्दा सिंहले राज्यमन्त्री पाएका हुन्।
तर, सिंह राज्यमन्त्री बनेपछि उनका थुप्रै मतदाता भने आश्चर्यमा परेका छन्। किनभने चुनाव जितेपछि पनि सिंहले मन्त्री समेत नखाने बताउँदै आएका थिए। जम्मा दुई वटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा राप्रपाले ३ दशकपछि मकवानपुरमा जित हात पारेको थियो। पटकपटक हार बेहोरेका सिंह पाँचौँ प्रयासमा विजयी भए।
संघीय संसदमा विजयी भएपछि सिंहले मतदाताको घरघरमा गएर भ्रष्टाचार नगर्ने र राज्यको ढुकुटी रित्याउने फोहोरी खेलमा राप्रपा नलाग्ने वचन दिएका थिए। संसदमा बेथितिका विरुद्ध आवाज उठाउने र मन्त्री पद नलिने बताएका सिंहले लुसुक्क राज्यमन्त्रीको पद लिएपछि उनका मतदाता आश्चर्यमा परेका हुन्।