काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका क्रममा मारिएका पत्रकारका परिवारप्रति समवेदना प्रकट गर्दै चिठी लेखेका छन् ।
उनले रेनोडको मृत्युप्रति उनको परिवारका साथै युक्रेनीहरु पनि शोकमा डुबेको उल्लेख गरेका छन् ।
रेनोडलाई ‘प्रतिभाशाली एवम् वीर पत्रकार’ भन्दै उनले दशौं लाख युक्रेनीहरुको मानवीय दुःख र पीडा उजागर गरेको पनि जेलेन्सकीले जनाएका छन् ।
आक्रामक मुलुकबाट युक्रेनीविरुद्ध भइरहेको ज्यादती र कठोरताका बारेमा विश्वलाई जानकारी दिन उनले अत्यन्त खतरनाक युद्धग्रस्त क्षेत्रको साहस र दृढतापूर्वक भ्रमण गरेको बताउँदै जेलेन्स्कीले उनको मृत्युप्रति पूरा युक्रेन नै शोकमग्न भएको बताए ।
युक्रेनको राजधानी किभबाहिर रहेको इरपिन शहरमा गत आइतबार मारिएका न्यु योर्क टाइम्सका पत्रकार ब्रेट रेनोडको परिवारलाई चिठी लेखेका हुन् ।
रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा मारिने रेनोड एकमात्र पत्रकार भने होइनन् । हालै युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुइ पत्रकार मारिएको समाचार आएको छ ।