धनगढीः काठमाडौंबाट धनगढीका लागि उठेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ। मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एन-एनयू कलसाइनको यू४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो। विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो।
सोही विमानमा आएका ३ जना यात्रु पुनः काठमाडौं फर्किएका छन्। धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र आधाघन्टा आकाशमा राखेर नेपालगन्ज फर्काइएको बुद्ध एयरका कर्मचारीले जनाएका छन्। बुद्ध एयर नेपालगन्जका कर्मचारी अर्जन रावलले धनगढीमा समस्या भएपछि नेपालगन्जमा ल्याण्ड भएको र प्यासेनजरलाई सोधेर केहीलाई बसमा धनगढी पठाइएको र ३ जनालाई सल्लाहमा पुनः काठमाण्डौ फर्काइएको बताए।
तर सोही विमानमा नेपालगन्ज अवतरण गरेका यात्रु संजित सिंहले बुद्ध एयरका कर्मचारीले आफूहरुलाई कुनै वास्ता नगरेको गुनासो गरे। हामी ३ जना यात्रु नेपालगन्जको होटलमा आफ्नै खर्चमा बसेका छौं, हामीलाई कुनै वास्ता नै गरिएको छैन, खर्च दिने कुरा पनि केही गरिएन, यसको जवाफ कसले दिने ? उनले गुनासो गर्दै भने। तर बुद्ध एयरका कर्मचारीले सबैलाई इच्छा अनुसार व्यवस्थापन गरेको दावी गरेको छ।