काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज १०६ जनालाई कारबाही गरेको छ। फागु पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका उनीहरूलाई कारबाही गरेको प्रहरीले जनाएको छ।
बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १०६ जनालाई कारबाही गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।
यसैगरी बिनाहेल्मेट, तीनजना चढ्ने र लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ जना सवारीचालकलाई कारबाही गरिएको छ।
एसएसपी जोशीले रङको पर्वमा होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मद्देनजर गरेर बिहानैदेखि विभिन्न ठाउँमा चेकिङ कडा पारिएको बताए। उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाई चेकजाँच गरेको थियो।