धनगढीः भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ भने बझाङ, डोटी, अछाम र मुगुका विभिन्न स्थानमा धनमालको क्षति भएको छ। बाजुरा, गौमुल गाउँपालिका–२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकायाको मंगलबार दिउँसो आएको भूकम्पमा परी मृत्यु भएको छ।
घाँस काटी घरतर्फ फर्किने क्रममा भूकम्पका कारण भिर माथीबाट ढुङगा खसेर टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो। साथै बडिमालिका नगरपालिका–२ घागर बस्ने ४५ वर्षीया चन्दा महत भूकम्प आउँदा आफ्नै घरबाट बाहिर भाग्ने क्रममा घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ।
यसैगरी गौमुल गाउँपालिका–१ अम्लिश बस्ने ३५ वर्षीय राजदल बोहरा सोही ठाउँस्थित पल्ला दोरणी भन्ने ठाउको जङ्गलमा भेडा बाख्रा चराईरहेको अवस्थामा भूकम्पका कारण माथिबाट आएको पहिरोमा परी सामान्य घाइते भएका छन्। उनको सोही ठाउँस्थित अम्लिस स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
भूकम्पका कारण बाजुराका विभिन्न स्थानीय तहका ६५ वटा घरमा क्षति भएको छ। बझाङ, जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारमा मंगलबार दिउँसो आएको भूकम्पका कारण १२ जनाको घरमा क्षति भएको छ।
भूकम्पका कारण मष्टा गाउँपालिका–४ आग्रा बस्ने जनक कठायत लगायत ५ जनाको घर, सुर्मा गाउँपालिका–१ दौलीचौरमा रहेको प्रहरी चौकी दौलीचौरको भाडामा रहेको घरको भान्सा कोठा र तलकोट गाउँपालिका–१ धमेनामा रहेको वडा कार्यालय भवन लगायत ४ जनाको घरमा क्षति भएको छ।
भूकम्पका कारण बझाङका विभिन्न ठाउँमा ५७ वटा घर र ७ वटा सरकारी कार्यालय गरी जम्मा ६४ वटा घरमा क्षति भएको छ। साथै भूकम्पका कारण घाइते भएका जयपृथ्वी नगरपालिका–११ बस्ने ५२ वर्षीय हरिकृण्ण जोशीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पका कारण डोटी जिल्लाका विभिन्न वडाका ३ वटा कच्ची घरमा आशिंक क्षति पुगेको छ भने अछाम जिल्लाको विभिन्न वडामा ४ वटा घरमा क्षति पुगेको छ।
त्यस्तै मुगु खत्याड गाउँपालिकाको विभिन्न वडामा २ वटा घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ भने ९ वटा घरमा आंशिक क्षति भएको छ। भूकम्प गएका स्थानमा तत्काल खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको छ।