काठमाडौं-आईसीसी विश्वकप क्रिकेट ‘लिग-२’ अन्तर्गत तेस्रो सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । नेपाल यूएईसँग ४८ रनले पराजित भयो ।
यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमा अलआउट हुन पुग्यो । रोहित पौडेलले ४६, ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
आशिफ शेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी ६, करण केसी ६ र सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख र कमलसिंह ऐरी शून्य रनमा आउट भए । सागर ढकाल शून्य रनमा नटआउट रहे ।
नेपाललाई सस्तैमा समेट्न बसिल हमिदले ४ र जुनैद सिद्धिकीले ३ विकेट लिए ।
यसअघि दुबईमा टस जितेर पहिला व्याटिङ गरेको यूएई ४६.३ ओभरमा १६८ रनमा अलआउट भएको थियो । यूएईका लागि चुन्दागापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए । ३५ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै रिजवान र मुस्तफाले पाँचौ विकेटका लागि ५७ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । उनीहरुको विकेट पतनसँगै यूएईको इनिङ्स धरमराएको थियो ।
नेपालका लागि सोमपाल कामीले ४ र करण केसीले ३ विकेट लिए । ९ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चेर ४ विकेट लिए भने किफायती बलिङ गरेका करणले ७.३ ओभरमा एक मेडनसहित १६ रन खर्चेर ३ विकेट झारे । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालको नाममा एक एक विकेट रह्यो ।