सुदूरपश्चिम-धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ। आज भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधि विजेता स्टेपिङले पुरस्कार स्वरुप रु एक लाख एक हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु ५१ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारिच २० ओभरमा छ विकेट गुमाएर १३४ रन बनायो । १३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७ दमशलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो ।उसका शैलेश केसीले ४६ रन बनाएर आउट भए। सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए। बलिङतर्फ स्टेपिङका आर्यन दानपालीले तीन दशमलब दुई ओभर बलिङ गर्दै ११ रन खर्चिएर चार विकेट लिए । अभिषेक खड्काले दुई र भुपेश जोशीले एक विकेट लिए । यसअघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा चार चौका र चार छक्काको मद्दतले ६१ रन बनाए ।
उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाए ।बलिङतर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान एक/एक विकेट लिए । प्रतियोगिताको ‘प्लेयर अफ दि म्याच’ स्टेपिङका आर्यन दानपाली घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भए । उनले पुरस्कार स्वरुप रु १० हजारसहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।यस्तै उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए।
उनीहरूले जनही रु पाँच हजार प्राप्त गरेका छन् । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड र वडा अध्यक्ष नारायण बरालले प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन) को आयोजनामा भएको सो प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयका क्रिकेट टोलीको सहभागिता रहेको थियो।रासस