धनगढीः दार्चुला र धारचुला बजार जोड्ने झोलुंगेपुल छेउको भारतीय तटबन्ध संरचना निर्माणमा नेपाली पक्षले आपत्ति जनाएको छ। इञ्जिनियरिङ सिद्धान्त र मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै महाकाली नदी नियन्त्रण आयोजनाले मौखिक र लिखित रूपमा यसबारे जानकारी गराएको छ।
भारततर्फको झोलुंगेपुलछेउमा पुलको एबुटमेन्टभन्दा ८ मीटरअगाडि तटबन्धको संरचना निर्माण गरेकोमा नेपाली प्राविधिकले सरोकार देखाएका छन्। ‘पुलको एबुटमेन्ट भनेको आफैँमा सुरक्षा संरचना हो, भारततर्फको तटबन्ध निर्माणले पुलको एबुटमेन्ट सबै ढाकिँदै छ’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले भने।
पुलछेउको ‘अपस्ट्रिम’मा तटबन्धको ‘कर्भ’ आकारको संरचना बनाएपछि नदीको बहाव नेपालतर्फ फर्किने जोखिम बढेको प्राविधिकहरूको भनाइ छ। भारतीय पक्षबाट पुलछेउको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ दुबैतर्फ ‘काउन्टर फोर्ड रिटेनिङ पर्खाल’को संरचना बनाइँदा नदीको बहाव साँघुरो हुने, बहाव नेपालतर्फ फर्किने र जोखिम बढाउने भन्दै यसबारे आयोजनाले लिखित प्रतिवेदन नै तयार गरेको छ।
पटक–पटकको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारिएको आयोजना प्रमुख साहले बताए। ‘निर्माण भएको संरचनाको अवस्था, सम्भावित जोखिम र समाधानका उपायहरूसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय र विभागमा पठाएका छौं’ उनले भने। यसअघि गत बिहीबार दुई देशका अधिकारीहरूको संयुक्त स्थलगत भ्रमणमा पनि आयोजना प्रमुख साहले भारतीय पक्षले प्राविधिक मापदण्डविपरीत संरचना बनाएको भन्दै प्रश्न उठाएका थिए। ‘तटबन्धको संरचनामा हाम्रो प्रश्न र आपत्ति छ तर भारतले संरचना बनाइसकेको छ।
निर्माण भइसकेको तटबन्धको संरचना भत्काउन नेपाली पक्षले प्रत्यक्ष आदेश दिन नसक्ने भएकोले स्थानीय प्रशासन र विभागमा यसबारे लिखित प्रतिवेदनसहितको जानकारी गराइएको इञ्जिनियर शर्माको भनाइ छ।
आयोजनाका तर्फबाट उठेका प्रश्न र सरोकारबारे भारतीय प्रशासनसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
महाकाली नदीमा राखिएको झोलुंगेपुलको लम्बाई ६२ दशमलव ५ मीटर छ। तर, भारतीय पक्षको तटबन्ध संरचना निर्माणले नदीको बहावक्षेत्र पुलको लम्बाईभन्दा कम हुने अवस्था रहेको प्राविधिकहरूको भनाइ छ। भारतीय पक्षले नेपाली पक्षलाई उपलब्ध गराएको तटबन्धको डिजाइनमा नदीको बहाव क्षेत्र ५७ मिटर लेखिएकोले नेपाली पक्ष झन् सशंकित बनेको छ।