धनगढी- नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन्।
जिल्ला कारागार कैलालीमा रहेका चौधरी आइतबार रिहा भएका हुन्। उनको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी गरेपछि रिहा भएका हुन्।
पक्राउ भएपछि निलम्बित भएका सांसद चौधरी रिहा भएपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिकि अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्ताको हुलसहित कारागार पुगेकी थिइन्।
२०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएन ।