पोखरा – नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका छन् ।
राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताए ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले शक्ति केन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौँ भने मुलुकको अस्मितामाथि गम्भीर सङ्कट सिर्जना हुन्छ ।’
जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्न सक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरूको अडान रहेको उनले बताए ।
उनले माओवादीले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको भन्दै स्थिरता र राष्ट्रियताका लागि राष्ट्रिय सहमति र सहकार्य आवश्यकता औँल्याएको बताए ।
उनले राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा चयन हुने दाबीसमेत गरे । सत्ता पक्ष र विपक्षको रूपमा परिकल्पना गरिएको प्रधानमन्त्री पदमा समेत सहमति भएको बताउँदै उनले प्रश्न गरे, ‘सत्तापक्ष र विपक्ष परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण के क्वेसन यो हो ।’
अर्को प्रसङ्गमा उनले राष्ट्रपति समग्र राज्यसँग जोडिएको विषय भएको बताउँदै राजनीतिबाट अलग पात्रको परिकल्पना नगरिने बताए ।