काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले
राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था
मा पुगेको दाबी गरेका छन् ।
आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियु स्थायी कमिटी बैठकको उद्घाटन गर्दै
अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने समेत बताए ।
सबै पद आफैँले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने जिकिर गरे । त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि उल्लेख गरे ।
अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे । के–के न गरौँला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको उनले आरोप लगाए ।