कैलाली – कैलाली निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी १७ दिने जेल बसाइपछि आइतबार रिहा भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी भएपछि रिहा भएका हुन् ।
थरुहट थारुवान् आन्दोलन ताका २०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेवको बजगाईँको लु२त २११ नम्बरको ट्याक्टरमा आगजनी भयो । सो घटनाका सम्बन्धमा ट्याक्टर मालिक बजगाईँले १ वर्षपछि २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरे ।
अदालतले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला सुनायो ।
घटना पश्चात् उनी २०७४ मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बने । लम्की चुहा नगरपालिकाको मेयरमा पनि उनी उम्मेदवार बने । २०७९ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उनी यस पटक भने निर्वाचित भए ।
माघ १९ गते उनलाई बाँकेबाट पक्राउ गरियो । उनले भने, ‘आजदेखि म पुनः माननीयको हैसियतमा छु । जनताको हक हितको लागि लामो समय आन्दोलनमा थिएँ । आम जनता, मतदाताले मलाई अमूल्य मत दिई जिताउनुभएको छ । उहाँहरूको हित, हक अधिकारको लागि उहाँहरूसँगै हुनेछु । उहाँहरूसँग गरेको बाचा पूरा गर्न लाग्नेछु । उहाँहरूको हितलाई सर्वोपरि ठानेर संसद्मा निर्धक्कका साथ आवाज उठाउने मेरो ध्येय हो ।’