कञ्चनपुरः भारतको उद्यमसिंह नगरमा एक नेपाली महिला नेपालीबाटै लुटिएकी छन्। बर्दियाको बासगढीकी ३८ वर्षीया बिनितालाई नशालु पदार्थ सेवन गराएर भारतमा नेपालीले लुटेका हुन।
हिमाञ्चल प्रदेशको कुल्लू मनालीबाट स्वदेश फर्किरहेकी उनी रुद्रपुरमा लुटेरा समूहको शिकार बनेकी थिइन्। बाटोमा आफूलाई जुस खुवाएर बेहोस बनाएपछि लुटपाट गरिएको बिनिताले बताइन्।
उनका अनुसार साथमा रहेको झोला, मोबाइल र नगद ३० हजार लुटिएको छ। उनी कुल्लूमा रोजगारी गर्थिन्। घर फर्किरहेकी उनी हरिद्धारबाट रुपैडियाको बसमा बसिन्। रुद्रपुरमा उनलाई दुई जना नेपाली नागरिक भेटिए।
उनीहरुले बिनितालाई मोटरसाइकलमा गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगाउने बताए। बिनिता पनि छिटो हुने भन्दै उनीहरुसंगै मोटरसाइकलमा महेन्द्रनगरसम्म आउन राजी भइन्।
बिनिता किच्छा नजिक पिपलिया चौराह नजिकै बेहोस अवस्थामा भेटिएकी थिइन्। स्थानीयले उनको उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पुगाएका थिए। अहिले उनी होसमा आएकी छन्।