काठमाडौं – पोखरा–१२ शितलादेवीमा घरजग्गा बिक्री गर्न नमानेको भन्दै छोराले आफ्नै आमाको हत्या गरेका छन्। घरमै सुतिरहेको अवस्थामा छोरा ओमबहादुर नेपालीले आफ्नी ६७ वर्षीया आमा नौमाया नेपालीको हत्या गर्न साथी कुमार गुरूङलाई एक लाख रुपैयाँ प्रस्ताव गरेको प्रहरीले अनुसन्धान गर्ने क्रममा खुलासा भएको छ ।
आमा सुतिरहेको कोठाको चुकुल खोलिदिएर मदिराले लठ्ठओमबहादुरले आमाको हत्या गर्न कुमारलाई घरभित्र पठाएका थिए। नौमायाको हत्यापश्चात् ओमबहादुरले एक लाख रुपैयाँ दिने प्रस्ताव गरेको कुमारले प्रहरी बयानमा स्वीकार गरेका छन्।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार चैत ४ गते बिहान छोरा ओमबहादुरले नै आमाको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। छरछिमेकमा समेत आमाको हेरचाह गरेको छवि बनाएका ओमबहादुरलाई यसअघि कसैले पनि आमाको हत्या गरेको शंका गरेका थिएनन्। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू दुबै जनाले कसुर स्वीकारेको डिएसपी तिवारीले जानकारी दिए ।
ओमबहादुरले घटनाका बारेमा जानकारी गराएपछि घटनास्थल पुगेका प्रहरीले आमाको मृत्यु नभई हत्या भएको आशंका गरेको थियो। आमाको घाँटी थिचिएको डाम बसेको थियो भने अनुहारमा आलो घाउ देखिएको डिएसपी तिवारीले बताए।
घरजग्गा बिक्रीका विषयमा आमा–छोरा विवाद पर्दा छोराले कुटपिट गर्ने र खाना नदिएको भन्दै केही समयअघि सामुदायिक प्रहरी माटेपानी पुगेर आमा नौमायाले गुनासो गरेकी थिइन्। सामुदायिक प्रहरीमा रेकर्डमा रहेको त्यही गुनासोका आधारमा छोरा ओमबहादुर र घटना भएको मध्यरातसम्म सँगै रहेका साथी कुमारलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
दुई जनालाई छुट्टा–छुट्टै राखेर बयान लिने क्रममा सुरूमा कुमारले घटना स्वीकार गरेपछि छोरा ओमबहादुरले पनि आफ्नो योजना स्वीकारेको डिएसपी तिवारीले बताए।
चैत ५ गते पक्राउ परेका दुबै जनालाई अदालतले अनुसन्धानका लागि ६ दिन म्याद दिएको छ। अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार ज्यानसम्बन्धी कसुरमा उनीहरूविरूद्ध मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ।