काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएको थियो । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन भनिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाइएको पत्र सो पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालमा पोष्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गरेका छन् ।