काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार बालुवाटारमा जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका हुन् ।
उनले राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका छन्। ‘जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको आज स्मृति दिवस पनि हो। विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ,’ उनले भने।
सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए।
‘सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै टुङ्गोमा पुग्छ। जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ। त्यसका लागि विधेयक महत्वपूर्ण छ,’ उनले भने।
माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ।