काठमाडौँ – प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ । आज उनको दायाँ हातको अपरेसन गरिने अस्पताल परिसरमा रहेका भण्डारीका नातेदार मीनप्रसाद भण्डारीले जानकारी दिए ।
“आज राइट ह्यान्ड (दायाँ हात)को अपरेसन गरिँदै छ । अहिले बिहान साढे १० बजे अपरेसनको तयारी गरिएको छ,” मीनप्रसादले भने । देब्रे हातका औँलाको पनि अपरेसन गर्नुपर्ने हुन सक्ने चिकित्सकले बताएको उनले जानकारी दिए ।
मीनप्रसादका अनुसार उक्त अस्पतालमा सांसद भण्डारीलाई भर्ना गरिएको आज १३औँ दिन हो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । राम्रोसँग बोल्ने र खाना पनि राम्रोसँग खाइरहेको उनले बताए । “अवस्था सामान्य छ । खाना खाने, बोल्ने सबै राम्रोसँग भइरहेको छ,” उनले भने, “इन्फेक्सन हुन सक्ने भएकाले अस्पताल बसाइ भने लम्बिएको छ ।” उनका अनुसार संक्रमण हुन सक्ने कारणले शुभेच्छुक/आगन्तुकलाई सांसद भण्डारीसित भेटघाट गर्न दिइएको छैन ।
यही फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीको भने मुम्बईस्थित अस्पतालमा उपचार भइरहेको हो ।