काठमाडौँ – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै छ ।
साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुने छ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
राष्ट्रपतिमा दुई जना उम्मेदवार छन्– रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ । दुवै विरुद्ध कुनै उजुरी परेको छैन । राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसैले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुन बाँकी छ ।
यस्तो छ खर्चको व्यवस्था :
निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् । तर, उनीहरूलाई चुनावी खर्चको सीमा तोकिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयन पत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।
तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १र१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०र२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।