काठमाडौँ – सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरू दौडधुप गरिरहेका छन् ।
काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरूको दौडधुप चलिरहेको छ । मन्त्रीका आकाङ्क्षीहरू शीर्ष नेताहरूलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् ।
नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रीविहीन बनेका छन् । एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफू नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरूले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरिरहेका छन् । त्यसका लागि आठ दलीय गठबन्धनका शीर्ष नेताहरूमा सामान्य छलफल भए पनि ठोस छलफल अघि बढिसकेको छैन ।
मन्त्रिमण्डल विस्तार र विश्वासको मत लिने काम राष्ट्रपति निर्वाचन अघि गर्ने कि पछि गर्ने ? भन्नेमा सत्ता साझेदार दलहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने तयारी गरेका छन् ।
यता नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । त्यसका लागि अर्थसहित भौतिक योजना मन्त्रालय दाबी गर्ने तयारी गरेको बताइएको छ ।
यो पार्टी सरकारमा जाने निश्चित छ । तर कुन कुन मन्त्रालयसहित जाने भन्ने कुरा प्रधानमन्त्रीसँग छलफल गरेपछिमात्रै थाहा हुने छ । पार्टीले आफ्नो तर्फबाट अर्थ र भौतिक मन्त्रालयमा दाबी गरेको छ ।
एमालेले सरकार छोडेपछि अर्थ खाली छ भने भौतिक माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएका छन् । पछिल्लो समिकरणपति श्रेष्ठलाई गृहमा पठाउने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ ।