काठमाडौँ – सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताए । बैठकमा दलहरुले आफ्नो-आफ्नो दाबी गर्दा बैठक निस्कर्षबिहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताए ।
उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए ।
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने र यसबारे भोलि सम्ममा सहमति जुटाउने तयारी भएको उनको भनाई छ । राउतका अनुसार जनमतले एक जना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ ।
राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरूले ममतालाई उम्मेदवार बनाउने बताए ।
चैत ३ गते निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।