काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाने भएका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते जाने भएका हुन् । देउवा २० गते स्वदेश फर्किने एक वरिष्ठ सरकारी अधिकारीले बताए।
तालिकाअनुसार देउवा १८ गते दिल्ली जाने, १९ गते भारतीय समकक्षी मोदीलगायतका भारतीय नेतासँग वार्ता गर्ने र २० गते स्वदेश फर्कने छन्।
भ्रमणका लागि परराष्ट्र मन्त्रलायले तयारी थाले पनि मिति तय भइनसकेको प्रवक्ता सेवा लम्सालले बताइन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपाल भ्रमणलगत्तै देउवा भारत जान लागेका हुन्। भारतमा रहँदा नेपाल र भारत सीमापार व्यापार र रेलमार्गलगायतका विषयमा सम्झौता हुने सम्भावना रहेको जनाइएको छ।
गत साउनमा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ।
देउवा र मोदीबीच गत वर्ष नोभेम्बरमा स्कटल्याण्डको ग्लासगोमा राष्ट्रसंघीय जलवायु सम्मेलनमा भेट भएको थियो।