काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन् ।
सोमबार नेपाल नगरपालिका सङ्घको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
देशको संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेकोमा आफू खुसी भएको उनको भनाई छ ।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक पदहरूमा फरक(फरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुसी र गर्वको महसुस गराएको बताएका हुन् ।
उनले संवैधानिक पदहरूमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ हुने बताए । प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको भन्दै अब विकास, समृद्धि र आवश्यक ऐनहरू निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार रहेको उल्लेख गरेका छन् ।