काठमाडौं – नेपालमा उत्पादन भएका सिटामोलको तौल बढाउने तयारी भएको छ । नेपालमा ६५० एमजीको औषधि हालसम्म उत्पादन भएको छैन । स्वदेशी औषधि उत्पादकले सिटामोल ६५० एमजीमा दर्ता गर्न आवेदन दर्ता गरेका छन् ।
यस बिषयमा छलफलका लागि औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बिहीबार स्वास्थ्य मन्त्रालयमा बस्दै छ । स्वास्थ्य सचिवको अध्यक्षतामा रहने समिति बैठकको विभिन्न ६ एजेण्डामध्ये पहिलोमा सिटामोल ६५० मिलिग्राम (एमजी) मा दर्ता गर्ने उल्लेख छ ।
नेपालमा प्रयोग भएको ५०० एमजीको सिटामोलले केही बिरामीमा काम नगरेको गुनासो आएको वरिष्ठ चिकित्सक डा. ऋषिकुमार काफ्ले बताउँछन् । ‘शरीरको वजन बढ्दै जाँदा वा रोगको आधारमा हाल प्रयोग भइरहेका सिटामोलको डोज नपुगेको डा. काफ्लेले बताए ।
त्यस्तै, औषधिको वजन बढाउँदा सिटामोलको मूल्यमा पनि बढाउने तयारी छ । नेपालमा सिटामोलको मूल्य प्रति ट्याब्लेट हाल एक रुपैयाँ रहेको छ । तर, केही औषधि उत्पादकको दबाबमा सरकारले सिटामोलको तौलसँगै मूल्य पनि बढाउन लागेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका छन् ।