दार्चुला – दार्चुलामा म्यादी प्रहरीमा आवेदन दिनेको भिड देखिएको छ। जिल्ला प्रहरी कार्यालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सात सय ४२ म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ ।
आवेदन खुलेको आज पाचौ दिन सम्म १६सय ५१ जनाले दरखास्त दिएका छन । स्थानीय तह निर्वाचन लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनु भएको छ । म्यादी प्रहरीका लागि आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको उमेरहद तोकिएको छ ।
फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ्य र साधारण लेखपढ गर्न जान्ने न्यूनतम योग्यता तोकिएको प्रहरी प्रवक्ता विश्वकर्माले जानकारी दिनु भएको छ ।आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधासमेतको व्यवस्था गरिएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार विहिबार सम्म ३सय जना महिला तथा १३ सय ५१ जना पुरुष गरी १६सय ५१ जनाको आवेदन परेको बताइएको छ ।
आवेदन परेकाहरुको यहि चैत्र १३ गते आइतबार सम्पर्क मिति तोकिएको छ । यसको बारेमा थप जानकारी लिन चाहेमा ९८५८७५४४५५ तथा १ सयमा सिधै फोन मार्फत तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाको फेसुबुक आइडिबाट पनि जानकारी दिन सकिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा कोरोना महामारीलगायतका विविध कारणले रोजगारीको अवसर नभएपछि म्यादी प्रहरीमा दरखास्त दिनेहरू धेरै रहेको देखिएको छ।