काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसको अवसर पारेर बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा पानीको स्रोत संरक्षणका लागि यस विषयमा भएका नीति, कानून कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छन् ।
भण्डारीले माटो र बोटबिरुवा नबोल्ने भएकाले मानिसले मात्र पानीको उपयोग गर्ने गरेकामा विज्ञले समानुपातिक वितरणका लागि भूमिका खेल्नुपर्ने बताउदै पानी दिवस मार्च २२ का दिनमात्र औपचारिक रुपमा मनाएर अरु दिन वास्ता नगर्ने बानीमा सुधार ल्याउनुपर्ने बताइन् । भण्डारीले विसं २०५१ देखि बागमती सफा बनाउन कार्यक्रम सुरु गरिए पनि अझै सुधार हुन नसकेको गुनासो व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले अध्ययन अनुसन्धानपछि विकास निर्माणमा जानुपर्नेमा त्यसो हुन नसक्दा पनि समस्या हुने गरेको बताउदै यस विषयमा विज्ञहरुले दिएको सुझाव सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सुझावका रुपमा प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गरिन् ।