दार्चुला-आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा १४राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ४ दल र मान्यता प्राप्त नभएका साना १० दल गरी १४वटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार ४ठूला दलबाहेक १० वटा साना दलले निर्वाचन प्रयोजनका लागि कार्यालयमा निवेदन दिएका छन्।
निर्वाचन कार्यालयले दल दर्ताका लागि चैत ६ गते सम्मको मिति तोकेको थियो। उक्त मितिमा राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरुले निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरेका हुन। जिल्लाभर ७९ हजार २३ जना मतदाताहहरुले मतदान गर्ने बताइएको छ ।
राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना १० दलले चुनाव चिह्नका लागि विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिएका छन।
साना दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि आयोगले यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो। आयोगले तोकेको समयमा जिल्लामा रहेका १० दलले पार्टीको विवरण सहित निवेदन बुझाएको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिए।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी,राप्रपा नेपाल,राप्रपा,संघिय लोकतान्त्रीक राष्ट्रिय मन्च, मौलिक ज्वारोकिलो पार्टी,जनसमाजवादी पार्टी नेपाल,नेपाल कम्युनिष्ट पार्टी राष्ट्रबादी तथा नेपालका लागि नेपाली पार्टी गरी १० वटा पार्टीले दल दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।राष्ट्रिय पार्टीको मान्यता पाएको चौथो शक्तिको रुपमा रहेको नेकपा एकीकृत समाजवादीले पनि आफ्नो चिन्हका लागि दल दर्ता गराएको छ।
निवेदन दिएका दलहरुको विवरण आयोगमा पठाइएको र आयोगले ती दलहरुलाई चुनाव चिन्ह दिने सूचना अधिकारी जोशीले जानकारी दिए।
कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पु¥याएको छ। वैशाख १३ गते सम्म मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ। आयोगले तोकेका कार्यक्रमलाई जिल्ला निर्वाचन कार्यालयले प्रभावकारी रुपमा कार्यन्नवय गर्दै लैजाने सूचना अधिकारी जोशीले बताए।