काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) पोखरा जाने भएकी छन् । पोखरामा आजदेखि शुरु हुने स्थानिय तहका न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी पोखरा जान लागेकी हुन् ।
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनका लागि देशभरका न्यायिक समितिका प्रमुख तथा सदस्यलाई आमन्त्रण गरिएको आयोजक पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्।
महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ। सर्वसाधारणको न्यायमा पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ न्यायिक समिति बनाइएको हो। गुरुङले सम्मेलनमा देशभरका ७५३ पालिकाबाट न्यायिक समितिका संयोजक तथा सदस्यसहित झण्डै ८०० जनाको सहभागिता रहने बताइन्।
सम्मेलनमा न्यायिक समितिका प्रमुखले कार्यसम्पादनका क्रममा देखिएका समस्या, उपलब्धि, र चुनौतीसँगै समाधानका उपायबारे आ–आफ्ना धारणा राख्नेछन्। सम्मेलनले आगामी दिनमा न्यायिक समितिलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावसहित पोखरा घोषणापत्र जारी गर्नेछ।