कैलाली-सुदूरपश्चिम प्रदेश सरकारका भौतिक निर्माणका योजना अझै कार्यान्वयनमा गएका छैनन्। १ लाखका योजना पनि वार्षिक कार्यक्रममा समावेश गरेको प्रदेश सरकारले ढिलो गरी मात्र अख्तियारी दिएकाले योजना कार्यान्वयनमा नगएका हुन्।
सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले ३ योजना मात्र कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, ‘हामीलाई ३ योजनाहरु दिइएको छ। इस्टमेटको काम गर्दैछौं।’
भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका पूर्वाधार कार्यालयहरु, जलस्रोत तथा सिँचाइ डिभिजन, सिँचाइ व्यवस्था कार्यालय, यातायात व्यवस्था कार्यालय, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय, शहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, भूमिगत जलस्रोत तथा सिँचाइ लगायतका ३० कार्यालयलाई योजना कार्यान्वयनको अख्तियारी दिइएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी तथा इन्जिनियर नरेश शर्माले बताए।
उनले भने, ‘योजना कार्यान्वयन गर्ने मातहतका कार्यालयले हो। हामीले अख्तियारी दिएका छौं। कार्यान्वयन भएरनभएको थाहा हुँदैन। अर्धवार्षिक प्रगति आएपछि मात्र जानकारी हुन्छ।’ भौतिक संरचना निर्माणका स–साना योजना पनि प्रदेश सरकारको वार्षिक कार्यक्रममा रहेकाले कार्यान्वयनमा चुनौति देखिएको हो।
सडक, पुल, खानेपानी, सिँचाइ लगायतमा भौतिक मन्त्रालयले १ लाखदेखि ५ लाखसम्मका योजना पनि वार्षिक कार्यक्रममा समावेश गरेको छ। टुक्रे योजनाका कारण ठेक्का सम्झौतामा समय लागेको हो।