काठमाडौं-निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि स्थापना गरेको ‘कल सेन्टर’ मङ्गलवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ।
चुनावका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो।
विगतमा ११ अंक नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अंकको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनालाई खटाइएको छ । आउँदो स्थानीय तहको चुनावसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ।
निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिए। चुनावसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भनेर आयोगले विगतदेखि नै चुनावका बेला कल सेन्टर सञ्चालन गर्दैआएको छ।
‘सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सहजै जानकारी प्राप्त गरुन् र आफूले चाहेको उम्मेदवारलाई निर्भयपूर्वक मतदान गर्न सकुन् भन्नेमा आयोगले विशेष ध्यान पुर्याउँदै आएको छ’, उनले भने, ‘कल सेन्टर मतदाताको आकर्षणको निम्ति हो । सेन्टरमा जवाफ दिने भूमिकामा रहनुभएकाले पनि सुझबुझका साथ विनम्र भएर जवाफ दिनु होला।’